काठमाडौं ।
अन्तर्राष्ट्रिय खेलाडी तथा इभेन्ट व्यवस्थापक करन बहादुर चन्दको प्रमुख व्यवस्थापनमा आयोजित ‘मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वल्र्ड–२०२६ (सिजन–२)’ तथा ‘राष्ट्रिय रत्न सम्मान–२०२६’ कार्यक्रम शनिबार काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ ।
महिलाको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि र महिला सशक्तीकरणलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा ‘मिस नेपाल इन्टरनेशनल वल्र्ड–२०२६’ को उपाधि बिपिशा भट्टराई ले जितिन् भने ‘मिसेस नेपाल इन्टरनेशनल वल्र्ड–२०२६’ को ताज रोजी श्रेष्ठ ले आफ्नो नाममा पारिन् ।

शनिबार सम्पन्न ग्राण्ड फिनालेका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य राजीव खत्री रहेका थिए । प्रतियोगिता सामरी इन्टरनेशनल इभेन्ट्स प्रालि ले आयोजना गरेको हो भने करन बहादुर चन्द प्रमुख व्यवस्थापकका रूपमा रहेका थिए। आयोजक संस्थाका अध्यक्ष भरत सामरी हुन् ।
प्रतियोगितामा नुमा फुङ सुब्बा ‘मिस’तर्फ फस्ट रनरअप घोषित भइन्। ‘मिसेस’तर्फ कल्पना प्रसाई (कामना) फस्ट रनरअप, सरिता राई सेकेन्ड रनरअप, गम्भीर गंगा थर्ड रनरअप तथा गीता देवी अर्याल फोर्थ रनरअप बने ।
विधागत पुरस्कारतर्फ कल्पना राई ले ‘पब्लिक च्वाइस विनर’, तीर्थाकुमारी मगर ले ‘भ्युअर च्वाइस विनर’ तथा हिमाकुमारी राजवंशी ले ‘म्यानेजमेन्ट च्वाइस अवार्ड’ प्राप्त गरे । यसै अवसरमा राधा न्यौपाने ढकाल लाई ‘मिसेस एसिया इन्टरनेशनल नेपाल’ तथा दुर्गादेवी थापा लाई ‘क्लासिक मिसेस एसिया इन्टरनेशनल नेपाल’ को उपाधि प्रदान गरिएको थियो ।

आयोजक संस्थाका अध्यक्ष भरत सामरीले प्रतियोगिताले महिलामा आत्मविश्वास, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र सकारात्मक सोचको विकास गर्नुका साथै नेपालको कला, संस्कृति र पर्यटनलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवद्र्धन गर्ने उद्देश्य बोकेको बताए ।
कार्यक्रम व्यवस्थापक करन बहादुर चन्दले प्रतियोगिताले महिलाको बाह्य सौन्दर्य मात्र नभई बौद्धिक क्षमता, आत्मविश्वास, नेतृत्वदक्षता र सामाजिक उत्तरदायित्वलाई समेत सम्मान गरेको बताए । उनले सम्पूर्ण सहभागी, सहयोगी, अतिथि, शुभेच्छुक तथा आयोजक टोलीप्रति आभार व्यक्त गर्दै यस कार्यक्रमको सफलताले सबैको सामूहिक समर्पण र विश्वासलाई प्रतिबिम्बित गरेको उल्लेख गरे ।
आगामी दिनमा पनि यस्तै अर्थपूर्ण कार्यक्रमहरू आयोजना गर्दै समाज र राष्ट्रको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता उनले व्यक्त गरे । ग्राण्ड फिनालेमा प्रतियोगीहरूले आकर्षक र्याम्प वाक, प्रभावशाली सार्वजनिक वक्तृत्वकला, सांस्कृतिक प्रस्तुति, प्रतिभा प्रदर्शन तथा व्यक्तित्व विकासका विभिन्न प्रतिस्पर्धात्मक चरण पार गर्दै आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।
कार्यक्रमको मुख्य प्रायोजक ‘बिहे सेवा’ रहेको थियो ।
