भर्खरै जवानीको थिर्थिरे लाठी समाउदै ,
जूनको सितालतामा ,
त्यो खुल्ला आकाश मुनि सुत्ने ,
त्यो मान्छे परदेशको लोर्के हो।
जुँगाका रेखी राम्ररी बस्न नपाउदै ,
बुवाको बरखी सकेर ,
आमाका बाध्यता माथि पुल हाल्न ,
सपनाका रेखिहरु ,
बिवाह मण्डपमा हालेको एक महिनामै उसलाई ,
फोन आयो मेनपावर बाट।
हातमा पासफोर्ट ,
छातीमा श्रीमतीको माया ,
निधारमा दिवंगत बुवाको आशीर्वाद ,
कलसमा आमाको आखाको जल ,
मनमा केहि गरौ भन्ने हुटहुटि ,
बोकेर लोर्के अहिले खाडी पुग्नु अघि ,
ऊ श्रीमतीको गर्भबाट आएको आवाजमा निक्कै बेर हरायो ,
किनकि
एता रगतको मुहान सुक्दै थ्यो भने ,
सम्झदै यता रगतको मूल फुटाउनु पर्ने बाध्यता।
यसरी नै रगतको नाता गास्न रगत सुक्नु पर्ने,
तर पनि हे ईश्वर,
किन फेरी हामीले सम्बन्ध सच्नकै लागी परदेशमा रगतको मुहान फुटाउनु पर्ने ?
बसन्तहरु बित्दै जादा ,
आमा चाडपर्बहरुले पनि किन थिची रहेछन
साहुको मिटर ब्याजले झैँ ।
लोर्के निरासामा भन्दै छ,
तापमान बढ्दै छ ,
साहुले पौठे जोरि खोज्दै छन् ,
साहुले पैसा नदिएको पनि छ महिना भयो ,
दुई बर्षको ब्याज तिर्न नसक्दा गोठको भैसी फुकाईदिए ,
यता मेरो हालत फुस्किएर ओएलडिङ्ग गर्दैछु।
हिजो राति सत्रुले फुकाएको गोठको गोरु बाध्न जादा
आमाको खुट्टो भाचीयो,
हे , प्रिय पतिदेव,
अब कसरी पुर्र्याउ आस्पताल ,
एक बर्षकि छोरीलाई के खुवाऊ ?
खुट्टामा काप्रो बाधौला,
ऋणको किलोमा आफुलाई ,
साहुकोमा कमारा बसौला ,
नानुलाई पानी खुवाऊला ,
चाडपर्बमा घुम्टो पर्यो भनौला ,
फर्की बाबु लोर्के फर्की
किनकि
काल हामीलाई पर्खि रहेछ ।
के भनिदिऊ काललाई लोर्के,
मेरो मृत्यु को ठेगाना बारे
ढुङ्गो टुसायपछि,
ऊनिउ फुलेपछी,
कि छोरो परदेशबाट फर्किएपछि आउछु भन्दिऊ ?
कवि श्याम गैरे
बाग्लुङ हाल काठमाडौं