– निरन्जन साउद
कृषि । गास, बास, कपास र आर्थिक विकासको आधार भएकाले यो बिना देश विकासको कल्पना गर्न सकिँदैन । नेपालमा जनगणनाको तथ्यांक अनुसार कृषिमा संलग्न जनसंख्याको प्रतिशत ६६ मात्रै रहेको छ ।
यो प्रतिशत दिनदिनै खस्किएको देखिन्छ । कृषिको विकासका लागि कृषिजन्य उद्योगको विकास जरुरी हुन्छ । कृषिबाट उत्पादित वस्तुहरू कृषिजन्य उद्योगमा खपत भई उचित मूल्य प्राप्त भएको खण्डमा देशमा उपलब्ध स्रोत र साधनको उचित परिचालन हुने गर्छ र कृषि क्षेत्रमा लुकेर बसेको बेरोजगार क्रमशः घटाउन सकिन्छ ।
कृषिसँग सम्बन्धित उद्योग सञ्चालन गरी कृषिबाट प्राप्त हुने कच्चा पदार्थ खपत गरेर विदेशी मुद्रा आर्जन गर्न सकिन्छ भने हाम्रै कृषि क्षेत्रलाई टेवा पुग्न जान्छ ।
कृषिमा आधारित उद्योग तथा कारखाना स्थापना गरी रोजगारी सृर्जना संगै राष्ट्रिय आम्दानीको समेत विकास हुन्छ । कृषिको विकासले नै चिनी, जुट, चिया, कफी, तेल, चामल मैदा लगायतका उद्योग सञ्चालन गर्न सकिन्छ । तर हाम्रो देशमा जमिनको असमान वितरणले गर्दा कृषिमा समस्या पनि सिर्जिएको पाइन्छ ।
वास्तविक किसानको हातमा जमिन हुने हो भने उत्पादन बढाउन निकै सहज हुन जान्छ । हाम्रो पछिल्लो तथ्यांक अनुसार राष्ट्रिय आयमा झन्डै पाँच प्रतिशत योगदान पुयाउने कृषि क्षेत्र अझै आकर्षणको क्षेत्र बन्न सकेको छैन । पर्याप्त मात्रामा उब्जनी गर्न उन्नत जातका बिउ सिँचाइ मलखाद प्राविधिक ज्ञानजस्ता अत्यावश्यकीय वस्तुको सहज रूपमा उपलब्धता हुनुपर्दछ ।
माग अनुरूपका बिउबिजन, मलखाद, उपकरण, बजार सुविधा, भण्डारण सुविधा, यातायातको सुविधा, ग्रामीण ऋण ग्रस्तता, दक्ष प्राविधि विज्ञको कमीजस्ता पुरानै समस्याले गर्दा कृषिमा उत्पादन बढाउन नसकिएको स्पष्टै देखिन्छ । कृषि पेसालाई मर्यादित र व्यवस्थित बनाउनका लागि माथि उल्लेख गरिएका समस्यालाई निराकरण गर्नु जरुरी हुन्छ ।
सर्वप्रथम कृषकलाई नवीन प्रविधि अपनाउनका निमित्त उन्नतजातको बिउबिजनको उपयोग, सिँचाइको सहजता जस्ता कार्यमा राज्यले अधिकतम् सहयोग गर्नुपर्छ । साथै उनीहरूलाई पशुपालन सम्बधी जानकारी दिँदै तालिमको व्यवस्था गर्नुपर्छ । उत्पादित कृषिका सबै वस्तुले उचित मूल्य प्राप्त गर्न व्यवस्थित रूपले बजार सुविधा उपलब्ध गराउनुपर्छ । कृषि कार्यमा पूर्णरूपले रोजगारी प्राप्त नभएकालाई साना उद्योग मार्फत आफ्नै क्षेत्रमा रोजगारी सिर्जना गराउनेतर्फ ध्यान पुयाउनुपर्छ । यस्तो कार्यबाट गाउँघरमा नै थप आयआर्जनको अवसर पाइनेछ भने त्यसले श्रमशक्तिको पलायन हुनबाट पनि बचाउँछ ।
स्थानीय स्तरमा नै उद्योग स्थापना गर्न सक्दा बेरोजगारी युवा जनशक्तिलाई रोजगार बनाउन सकिन्छ भने अनावश्यक रूपले कृषि क्षेत्रमा रहेको भार कम भई थप आर्थिक विकासमा सहयोग पुग्छ । यसले कृषि क्षेत्रमा वचत र अन्य क्षेत्रमा लगानी वृद्धि गर्न ठूलो मद्दत पुयाउँछ । पहिलो सवाल त बेरोजगारी समस्या जटिल बन्दै गएको छ जसलाई कम गर्न कृषि क्षेत्रलाई आकर्षणका रूपमा विकसित गर्नुपर्ने खाँचो रहेको छ । कृषि क्षेत्रअन्तर्गतकै फलफुल तरकारी माछामासुजस्ता उपभोग्य वस्तुमा त झनै उत्पादक चाहिं नगन्य मूल्यमा उपज बिक्री गर्न बाध्य हुन्छ विचौलियाको विगविगीका कारण । जसले गर्दा उपभोक्ता समेत बढी मूल्य तिर्न विवश बनाइन्छन् ।
समग्रमा हेर्दा ठूलो जनशक्ति कृषिमा संलग्न भएपनि कामका लागि विदेसिने युवाजनलाई पनि यस क्षेत्रमा आकर्षित गर्दै र अझै व्यवस्थित बनाएर दैनिक विदेसिने युवालाई रोक्ने कार्य गरी देशको अर्थतन्त्रलाई मजबुत बनाउनुपर्छ । जसका लागि सहजै सरकारले कृषि ऋण र प्रसार शिक्षा उपलब्ध गराउने उत्पादित वस्तु खरिद गर्ने विश्वसनीय वातावरण निर्माण गर्ने बिनाधितो कृषिमा लगानी गरी व्यावसायिक बनाउने वातावरण सिर्जना गराउनुपर्छ ।
कृषि मानिसलाई रोजगारी दिन सक्ने भएकाले यस क्षेत्रमा व्यवस्थित र नवीन कार्यमा ल्याएर युवालाई आकर्षित गर्नुपर्ने देखिन्छ । हामीले यसलाई व्यावसायिक र आधुनिक बनाउन सकेका पनि छौनौ । सरकारले अहिले पछिल्लो समयको बजेटमा भूमि बैंकको कुरा उठाइएको छ । जुन सवाल उत्तम भए पनि व्यवहारमा उतार्न कठिन देखिन्छ । जमिन हुने तर खेती नगर्नेबाट भाडामा लिएर व्यावसायिक खेती गर्ने हो भने दुवैलाई लाभ हुने थियो । वर्तमान सरकार जनपक्षीय कामभन्दा पनि आपसी कलहमा र सत्ता मोहमा लागिपरेकाले थप अपेक्षा राख्नु उपयुक्त भने नहुने देखिन्छ । रोजगारीको मूल भनेकै खेती हो । आज खेती गर्ने किसानलाई एकखाले पीडा दिइएको छ । लगानी गरी बल्लबल्ल उत्पादन भएका उपभोग्य वस्तु बजारमा लगिन्छ, त्यहाँमा बिचौलियाको बिगबिगीले थप मारमा परेर चटक्कै सो पेसा छाडेर हिंडौं हुने भनेको कम्ती मन कुडिने विषय होइन ।
आज पनि किसानको हितमा खोई के भएको छ ? न बजार, न त अन्य सुविधा नै । केही दिइएको देखिदैन् । बजार जहिले नि अस्थिर हुने अनि उपभोक्ताले बढी मूल्य तिरिरहने । जुन गलत परिपाटीको विकास भएर गएको छ । यसले थप समस्या खडा गरेको छ । हतारमा किनमेल गरेर घर जाने सबैले सचेतता अपनाउने गर्दैनन् । सामान्य जानकारी नराख्ने हामी त्यसै कारणले बेलाबेलामा ठगिने गरेका छौँ । अनि थोरै नगदले धेरै सामान खरिद गर्नुपर्ने बाध्यता विपन्नवर्गमा रहेको छ । आजको अवसरवादी बजारमा व्यापारिक धर्म पनि देखिँदैन । क्षणिक स्वार्थमा लिप्त हुँदा अनेकौं विकृतिले स्थान पाएको अवस्था छ । मानवमा दानवीय आचरण हावी भएर गएकाले अनेकौं समस्या आइपरेको देखिन्छ ।