काठमाडौं –
बजारमा सजिलै पाइने आयोडिनयुक्त नुनको अधिकतम खुद्रा मूल्य सामान्यतया ३० रुपैयाँ आसपास पर्ने गर्दछ । तर राजधानीका केही ठूला सुपरमार्केट, विशेषगरी भाटभटेनी लगायतका पसलमा “सेन्चुरी हिमालयन साल्ट” नामक नुन १८५ रुपैयाँमा बिक्री भइरहेको पाइएको छ । यो मूल्य सामान्य नुनको तुलनामा झण्डै ६ गुणासम्म बढी हो ।
आकर्षक प्याकेजिङ, चम्किलो ब्रान्डिङ र ‘हिमालयन’ शब्दको प्रयोगले उक्त नुनलाई विशेष गुणस्तरयुक्त र स्वास्थ्यका लागि लाभदायक जस्तो सन्देश दिन खोजिएको देखिन्छ । तर के वास्तवमै यो नुन अन्य आयोडिनयुक्त नुनभन्दा फरक छ भन्ने प्रश्न उपभोक्तामाझ उठ्न थालेको छ ।
यस विषयमा जानकार व्यक्तिहरूसँग बुझ्दा उक्त नुन र सामान्य आयोडिनयुक्त नुनबीच खासै पोषणगत भिन्नता नभएको दाबी गरिएको छ । केही स्रोतहरूले भने यसमा सीमित मात्रामा ‘बिरे नुन’ मिसाइएको हुन सक्ने बताएका छन् । स्थानीय बजारमा बिरे नुनको मूल्य प्रतिकिलो करिब १८० रुपैयाँसम्म पर्ने देखिन्छ ।
यदि अधिकतम २५० ग्राम बिरे नुन मिसाइएको मान्ने हो भने त्यसको लागत करिब ४५ रुपैयाँ र बाँकी सामान्य नुनको लागत २५ रुपैयाँ जोड्दा कुल उत्पादन मूल्य करिब ७० रुपैयाँ आसपास हुन सक्ने उपभोक्ता पक्षको अनुमान छ । तर बजारमा भने यही उत्पादन १८५ रुपैयाँमा बिक्री भइरहेको देखिन्छ ।
उपभोक्ता अधिकारकर्मीहरू भन्छन्— यदि कुनै खाद्य वस्तुमा विशेष पोषक तत्व, खनिज वा स्वास्थ्यसम्बन्धी प्रमाणित दाबी छैन भने केवल ब्रान्ड नाम र प्याकेजिङका आधारमा अत्यधिक मूल्य लिनु भ्रामक हुन सक्छ। धेरै उपभोक्ताले ‘हिमालयन’ शब्द देखेर यसलाई स्वास्थ्यका लागि विशेष लाभदायक ठान्ने गरेका छन्, जुन धारणा वैज्ञानिक रूपमा पुष्टि नभएको हुन सक्छ ।
विज्ञहरूका अनुसार नुन किनमेल गर्दा सबैभन्दा महत्वपूर्ण कुरा आयोडिनको मात्रा, खाद्य सुरक्षा मापदण्ड र लेबलमा उल्लेख गरिएको वास्तविक जानकारी हो। आकर्षक प्याकेट र महँगो मूल्यले मात्र गुणस्तर सुनिश्चित गर्दैन ।
उपभोक्ता अधिकारको दृष्टिकोणले हेर्दा यस्तो मूल्य अन्तरबारे सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने आवश्यकता देखिएको छ ।