
काठमाडौं। काठमाडौंका विभिन्न नदीकिनार क्षेत्रबाट हटाएर कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा राखिएका विस्थापित सुकुम्बासी परिवारहरू पुनः वर्षाका कारण समस्यामा परेका छन्। गएरातिको अविरल वर्षापछि होल्डिङ सेन्टरमा पानी पसेर डुबान भएपछि त्यहाँ आश्रय लिइरहेका परिवारहरू रातभर त्रासपूर्ण अवस्थामा बस्न बाध्य भएका हुन्।
होल्डिङ सेन्टरमा रहेका पीडितहरूले डुबानपछि समयमै उद्धार हुन नसकेको गुनासो गरेका छन्। उनीहरूले आफूहरूलाई नदी किनारबाट हटाएर पुनः जोखिमयुक्त स्थानमै राखिएको भन्दै सरकारप्रति आक्रोश पोखेका छन्।
प्राप्त जानकारीअनुसार होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनालाई उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा सुरक्षित स्थानान्तरण गरिएको छ। यस्तै, ६ जना आफन्त वा अन्य सुरक्षित स्थानमा गएका छन् भने बाँकी ९४ जना होल्डिङ सेन्टरको पानी नपसेको भागमा बसिरहेका छन्।
बागमती तथा अन्य नदी किनार क्षेत्रबाट हटाइएका परिवारलाई अस्थायी रूपमा राख्न स्थापना गरिएको उक्त होल्डिङ सेन्टर मनसुन सुरु भएसँगै आफैं डुबानको जोखिममा परेपछि सरकारको पुनर्स्थापना व्यवस्थापनमाथि प्रश्न उठ्न थालेको छ। यसअघि पनि त्यहाँ बसोबास गरिरहेका परिवारहरूले अस्थायी आवास, राहत वितरण र स्थायी पुनर्स्थापनाको माग गर्दै पटक–पटक आवाज उठाउँदै आएका थिए।
होल्डिङ सेन्टरमा आश्रित परिवारहरूले आफूहरूलाई केही दिनका लागि मात्रै राखिने जानकारी दिइए पनि दुई महिनाभन्दा बढी समयदेखि स्थायी विकल्पबिना बस्नुपरेको बताएका छन्। उनीहरूले नगद राहतभन्दा सुरक्षित र दीर्घकालीन आवास व्यवस्थाको माग दोहोर्याएका छन्।
यस घटनापछि सामाजिक सञ्जालमा पनि सरकारको पुनर्स्थापना नीतिको व्यापक आलोचना भइरहेको छ। जोखिमयुक्त नदी किनारबाट हटाइएका नागरिकलाई पुनः डुबानको सम्भावना रहेको स्थानमै राखिएको भन्दै योजना कार्यान्वयनमा कमजोरी भएको टिप्पणी भइरहेका छन्।