काठमाडौं ।
बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरीमोहन भण्डारीले काठमाडौंमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बैतडीका नेता, कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् ।
नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा सांसद भण्डारीले पार्टीभित्रबाट भइरहेको आलोचना र असन्तुष्टिप्रति गुनासो व्यक्त गरे । सांसद बनेपछि आफूले खेलेको भूमिका तथा संसदमा उठाएका विषयलाई लिएर पार्टीभित्रैबाट विरोध भइरहेको भन्दै उनले असन्तुष्टि जनाए । साथै, आफू संसदका उत्कृष्ट पाँच सांसदभित्र पर्न सफल भएको दाबी गर्दै पार्टीभित्रबाट अनावश्यक विरोध नगर्न आग्रह गरे ।
अन्तरक्रियामा सहभागीहरूले भण्डारीले “पार्टीका कारण नभई आफ्ना कारणले पार्टीले चुनाव जितेको” भन्ने अभिव्यक्ति दिएको विषय पनि उठाएका थिए । त्यसको जवाफमा भण्डारीले केही प्रसङ्गमा त्यस्तो अभिव्यक्ति आएको भए पनि आफू पार्टीप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।
छलफलका क्रममा सहभागीहरूले सांसद बनेपछि फोन नउठाउने, कार्यकर्ताको भावना नसुन्ने, चुनावी खर्चको विवरण सार्वजनिक नगरेको, तिर्न बाँकी रहेको चुनावी खर्चबारे मौन बसेको, स्वकीय सचिव नियुक्तिमा परामर्श नगरेको तथा बैतडीमा सचिवालय वा सम्पर्क कार्यालय स्थापना नगरेको लगायतका विषयमा असन्तुष्टि व्यक्त गरे ।
जवाफमा सांसद भण्डारीले यस्ता गुनासा भए आफूलाई प्रत्यक्ष भेटेर वा फोनमार्फत जानकारी गराउन आग्रह गर्दै सामाजिक सञ्जालमा लेखेर विवाद बढाउन नचाहेको बताए । उनले छिट्टै बैतडीको पाटनमा आफ्नो सचिवालय वा सम्पर्क कार्यालय स्थापना गर्ने जानकारी पनि दिए ।

रास्वपाका प्रदेश उपसभापति भोजराज जोशी (क्वालिटी) ले पार्टीका आन्तरिक विषय बैठकमै समाधान गर्नुपर्ने धारणा राखे । सामाजिक सञ्जालमार्फत पार्टी र सांसदमाथि आरोप–प्रत्यारोप गर्नु उचित नभएको उनको भनाइ थियो । आन्तरिक विवाद समाधान गर्नकै लागि आफू काठमाडौं आएको उल्लेख गर्दै उनले आगामी स्थानीय तथा प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी पार्टी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रम व्यवस्थापनकर्ता समेत रहेका कलाकार भानुभक्त जोशीले पार्टीका सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताए । युवा नेता हरीश भट्टले रास्वपा अन्य दलभन्दा फरक र प्रभावकारी ढंगले प्रस्तुत हुनुपर्ने भए पनि केही कमजोरी देखिएकाले ती सुधार गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।
कार्यक्रमको अन्त्यमा सांसद भण्डारीले आगामी दिनमा बैतडीमा रास्वपालाई एकढिक्का बनाएर अघि बढाउन आफू प्रतिबद्ध रहेको बताए । उनले आजकै मितिदेखि आन्तरिक मनमुटाव अन्त्य गर्दै एकताबद्ध रूपमा पार्टीलाई अघि बढाउने विश्वास व्यक्त गरे ।
