सुनील पौडेल (उप-प्राध्यापक)
काठमाडौं ।मदन भण्डारी मेमोरियल कलेज (एमबीएमसी)ले राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’को चौथो संस्करण आज कलेजको सभाहल नयाँ बानेश्वरमा एक समारोहबीच उद्घाटन गरेको छ । ‘इनोभेसन फर इम्प्याक्ट’ भन्ने मूल नाराका साथ आजबाट १८ गतेसम्म कलेज परिसरमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गर्दै कलेज व्यवस्थापन समितिका अध्यक्ष पुर्व मन्त्री महेन्द्र बहादुर पाण्डेले अध्ययन सँगसँगै समाजका समस्याहरुको समाधानको खोजीमा सूचना प्रविधि विषयका देशभरका विद्यार्थीहरु बीच प्रतियोगिता आयोजना गर्नु कलेजको सामाजिक उत्तरदायित्वको एउटा हिस्शा रहेको बताउनुभयो । “सहभागी विद्यार्थी टोलीले नेपाल-केन्द्रित समस्याको सूचना प्रविधिमा आधारित समाधानको खोजी गर्नेछन्”, उहाँको भनाइ छ ।
सूचन प्रविधिमा नवप्रवर्तन सम्बन्धी प्रतिस्पर्धात्मक ह्याकाथनका लागि देशभरबाट १६० वटा टीम दर्ता भएका थिए । आयोजक मदन भण्डारी मेमोरियल कलेजका क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीका अनुसार भदौ २१ देखि २८ गतेसम्म भएको अनलाइन मूल्यांकनपछि २० टोली अन्तिम चरणका लागि छनोट भएका छन् । फाइनलमा देशभरका २८ शैक्षिक संस्थाका ६७ प्रतियोगी सहभागी छन् ।
पाँच विषयगत क्षेत्र
यस वर्षको प्रतियोगिता पाँचवटा मुख्य विषयगत क्षेत्रमा केन्द्रित छ:
- जलवायु परिवर्तन, उत्थानशीलता र दिगोपना
- पर्यटन
- ई-गभर्नेन्स र स्मार्ट सार्वजनिक सेवा
- स्मार्ट सहरी यातायात र सडक सुरक्षा
- फिनटेक र डिजिटल वित्तीय नवप्रवर्तन
विपद् जोखिमबारे सचेतना, यात्रा सूचना, सार्वजनिक सेवामा सहज पहुँच, सडक सुरक्षा तथा समावेशी डिजिटल वित्तजस्ता क्षेत्रमा काम गर्दै टोलीहरूले ४८ घण्टापछि कार्यशील नमुना प्रारूप (प्रोटोटाइप) प्रस्तुत गर्नेछन् ।
“आइडिया एक्स विद्यार्थीले कक्षाकोठामा सिकेको ज्ञानलाई समाजका वास्तविक समस्यासँग जोड्न सकून् भन्ने उद्देश्यले सुरु गरिएको मञ्च हो । आदिवासी भाषा संरक्षणको विषयबाट सुरु भएको यो कार्यक्रम आज राष्ट्रिय मञ्चका रूपमा विकसित हुनु सिंगो कलेजका लागि गौरवको विषय हो । यहाँ जुटेका युवा नवप्रवर्तकले नेपालका लागि नयाँ र व्यावहारिक विचार ल्याउने अपेक्षा गरेका छौं ।”
– डा. बाबुराम अधिकारी, क्याम्पस प्रमुख, एमबीएमसी
भाषा संरक्षणदेखि राष्ट्रिय मञ्चसम्म आइडिया एक्स
आइडिया एक्स सुरुमा आदिवासी भाषा तथा सांस्कृतिक सम्पदाको संरक्षणमा केन्द्रित ह्याकाथनका रूपमा सुरु भएको थियो । त्यसपछिका संस्करणमा वातावरण, स्वास्थ्य, कृषि, पर्यटन, साइबर सुरक्षा र वित्तीय प्रविधिजस्ता क्षेत्र समेटिए । टोलीले पहिले अनलाइन पिचिङ गर्ने र छनोट भएका टोलीले प्रत्यक्ष उपस्थितिमा परियोजना विकास गर्ने प्रक्रिया पनि अपनाइएको छ ।
“सुरुमा दर्ता भएका १६० मध्येबाट २० टोली छनोट हुनुले यस पटकको कडा प्रतिस्पर्धाको स्तर देखाउँछ । ४८ घण्टामा सहभागीले समस्या पहिचान गर्ने, प्रोटोटाइप बनाउने र निर्णायकसमक्ष प्रस्तुत गर्ने अवसर पाउनेछन् । टोलीमा काम गर्ने, समय सिमाको दबाबमा निर्णय लिने र आफ्ना विचार प्रष्ट रूपमा राख्ने यो अनुभव उनीहरूले रोजेको जुनसुकै क्षेत्रमा काम लाग्नेछ ।”
– नवराज जोशी, कार्यक्रम संयोजक तथा बीसीए संयोजक, एमबीएमसी
कलेजको बिएससी-सीएसआइटी विभागका संयोजक प्रज्ज्वल भण्डारीका अनुसार ह्याकाथनका क्रममा १० जना मेन्टरले टोलीलाई मार्गदर्शन गर्नेछन् भने ५ जना निर्णायकले अन्तिम परियोजनाको मूल्यांकन गर्नेछन् । प्रविधि, बैंकिङ, लेखा-परीक्षण तथा वित्त, शिक्षण र सार्वजनिक क्षेत्रका अनुभवी व्यक्तिहरू मार्गदर्शन र मूल्यांकनको प्रक्रियामा संलग्न रहने उहाँको भनाइ छ ।
प्रतियोगिताको अन्तिम दिन असोज १८ गते बेलुका ४ बजे कलेजको सभाहलमा समापन समारोह संचालन हुनेछ । प्रतियोगीतामा सर्वोत्कृष्ट हुने टोलीले एक लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । उक्त समारोहमा सहभागीहरु मध्ये पहिलो, दोश्रो र तेस्रो उत्कृष्ट हुने टोली पुरस्कृत हुनेछन् ।
कार्यक्रमलाई नेपाल टेलिकम, आईएमई ग्रुप, आईएमई रेमिट, लिपफ्रग कनेक्ट, लिपफ्रग टेक्नोलोजी, ग्लोबल प्रिन्टिङ, अल्टिमा, डेबगसफ्ट, आश्रित ट्राभल्स टच प्रा.लि., रोयल सुज, टेकएक्सिस, बेनेभिस, आइडिया स्टुडियो, निम्बु फिज, कैलाश क्लाउड, डीलाईटिका नेपाल प्रा.लि., भेनस अस्पताल, अलिस स्टेसनरी र एसएम ग्रुपले सौजन्य गरेका छन् ।