नवलपरासी ।
बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका-२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश-३-०१-००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा खसेको हो । बसमा चालकसहित १८ जना सवार थिए । दुई जना सकुशल रहेका छन् ।
मृत्यु हुनेमा जाजरकोट भेरीगंगा-३ का ५० वर्षीय निर्जुङ खत्री, बाँके कोहलपुर–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुरा स्वामीकार्तिकका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँके कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज-७ का २२ वर्षीय कृष कनौजिया रहेका छन् । एक मृतकको पहिचान खुलेको छैन ।
घाइते हुनेमा गोरखा–९ का ३० वर्षीय हरिशरण थापा, अछाम मंगलसेन-६ का २८ वर्षीय तेजेन्द्र प्रसाद भण्डारी, बर्दिया ठाकुरबाबा-१ की २० वर्षीया आकृति, बाजुरा स्वामीकार्तिक–५ का ३२ वर्षीय पवन बुढा, बर्दिया राजापुर-९ का २८ वर्षीय सञ्जय थारु, बाजुरा स्वामीकार्तिक-१ का २५ वर्षीय प्रेम बम, ललितपुर कुञ्ज्योसोम–५ का २९ वर्षीय अनोज खत्री, बर्दिया बाँसगढी–७ का ३६ वर्षीय लालबहादुर कार्की, बाँके नेपालगञ्ज-१६ का ४८ वर्षीय अस्लाम भगवान र सल्यान वनगाड कुपिण्डे-१ का २१ वर्षीय अनिल बुढाथोकी रहेका छन् ।
घाइतेहरूको नवलपरासी र चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।