काठमाडौँ ।
काठमाडौँको कीर्तिपुरस्थित दिया एजुकेशनले दशै तिहार तथा छठ पर्वको पूर्व सन्ध्यामा शुभकामना आदान-प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
दिया एजुकेशनका प्रमुख विवेक भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ गायक भोजराज भट्ट, महेशकुमार औजी, पछिल्लो समयकी लोकप्रिय गायिका इब्सल सञ्ज्याल, जे.आर. भट्ट, भक्तराज भट्टलगायत कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए । कलाकारहरूको उत्कृष्ट प्रस्तुतिले कार्यक्रममा सहभागीलाई मनोरञ्जन प्रदान गरेको थियो ।

कार्यक्रममा दिया एजुकेशनमा अध्ययनरत एक दर्जनभन्दा बढी विद्यार्थीले समेत विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए । विद्यार्थीहरूले नृत्य, गायन, गीत तथा कविता, गजल वाचन गरेका थिए ।
उक्त कार्यक्रममा काठमाडौँमा सञ्चालित प्रतिष्ठित शैक्षिक संस्थाका सञ्चालक तथा प्रतिनिधिहरूको समेत सहभागिता थियो । कार्यक्रममा सहभागी वक्ताहरूले शिक्षा र अतिरिक्त क्रियाकलापसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए ।

दिया एजुकेशनले आयोजना गरेको कार्यक्रममा कीर्तिपुर क्षेत्रका सयौँ शुभेच्छुक तथा विद्यार्थी, अभिभावकको उत्साहजनक सहभागिता थियो । कार्यक्रमले शिक्षा, कला, संस्कृति र सामाजिक सम्बन्धलाई जोड्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।
शुभकामना पार्टी प्यालेसमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, शैक्षिक संस्थाका सञ्चालक, विद्यार्थी तथा सयौँ शुभेच्छुकको सहभागिता रहेको थियो । सुदूरपश्चिमको लोकप्रिय डेउडा खेल सहित कार्यक्रम सम्पन्न भएको दिया एजुकेशनका सञ्चालक भास्कर भट्टले बताए ।
