काठमाडौं
निर्मला ढकाल
पन्ध्र वर्ष पहिले मैले चिन्दा श्रीमानले छाडेर दुईवटा बच्चासहित दोहोरीमा गाउँदै सामान्य जीवन व्यतीत गर्थिन् । अहिले दुई चारवटा सफल व्यवसायका साथै ‘धनाढ्य महिला’का रूपमा परिचित उनी राजनीतिमा पनि टेको हाल्दै रहिछन् ।
तितो विगत र सुखद वर्तमानका खुड्किला उनैलाई थाहा होला । प्रसङ्गवश साथीले भन्नुभयो ‘पुलिस, आर्मी र नेतालाई खल्तीमा हालेर हिँड्न सक्ने खुबी भएपछि महिलालाई व्यवसायमा सफलता मिलिहाल्छ नि ।’ छोटो समयमा सफलता हासिल गर्दा पाउने ट्याग सायद अब नौलो नहोला । हाँस्दै मित्रले थपे ‘बारी खनेपछि फल लाग्नु ठूलो कुरो होइन ।’
सरकारी कार्यालयमा करारको जागिर, त्यो पनि सामान्य पदले काठमाडौंमा बीस हजारको फ्ल्याट, सवारी साधन, ब्रान्डेड पहिरन र घरमा खर्चसमेत धान्न सक्ने गरी कमाइ हुनु सबैको चासोको विषय त अवश्य हुन्छ । सरकारी कार्यालयमा ‘बाबा’ र ‘दाइ’को आशीर्वाद हुँदासम्म त असम्भव हुन्न । मित्रले कुटिल हाँसोमा उत्तर दिएकी थिइन् । सफल महिला हुनका लागि चाहिने हर पूर्वाधार उनीसँग थियो अहिलेलाई भने दुनियाँसँग उनलाई जोड्न लागि उनका हाकिमका किस्सा ।
विदेश बस्ने एक युवकले आफूलाई बारम्बार अनावश्यक तनाव दिएर पारिवारिक वातावरण बिग्रेको साथै आफूले आत्महत्या प्रयाससमेत गरेको घटना एक महिलाले सुनाइन् । औपचारिक रूपमै कानुनी उपचारमा जान चाहेकी थिइनन् तर छुटकारा पाउन भने नखोजेकी रहिछन् । बुझिहालियो, आर्थिक कारोबार हुँदै शारीरिक सम्पर्कसम्म पुगेर घटना पारिवारिक विखण्डन तर्फ धकेलिएको रहेछ ।
डिभोर्सको कुरा बाहिर आउँदा पुरुषभन्दा महिलामाथि प्रतिप्रश्न गर्छ समाज । टिकटकबाट उदाएकी स्मारिकालाई ‘लोग्ने किन छाडिन्’ भन्दै कुर्लने जमातलाई जवाफ दिन उनी रुँदै मिडियामा आउन परेको थियो । पुरुषलाई तेरो के गल्ती थियो भनेर कसैले प्रश्न गर्न चाहेन ।
जोडिँदा दुवैले आफ्नो–आफ्नो फाइदा लुटेका थिए भने अब अहिले महिलाले मानसिक तनाव बेहोर्न परेको देखियो । एउटा गल्तीले पीडित महिला आत्महत्यासम्म पुग्ने बनेको देखियो । विदेशमा रहेको युवकलाई सबक सिकाउन सहज देखिएन भने विविध कारणले गर्दा घटना बाहिर ल्याउन पनि उस्तै असहज ।
‘जुन महिलासँग भेट गर्नुभयो, उनका बारेमा चल्ने हल्ला नकारात्मक हुन्छ है, बचेर बस्नुहोला ।’ कुनै समय सामान्य चिया भेटको फोटो सञ्जालमा राखेपछिको सुझाव थियो ।
विभिन्न सम्बन्धमा जोडिएर बस्ने र पछि गालीगलौचमा उत्रने स्वभावदेखि धेरै व्यक्ति परिचित रहेछन् । आर्थिक लेनदेनबिनाको ‘क्रेजी’ सम्बन्धमा रहेको उनले स्वीकार गरेकी थिइन्, जुन मेरो सरोकारभन्दा बाहिरको कुरो थियो ।
मलाई अरूको सम्बन्धसँग सरोकार थिएन तर सम्बन्धमै रहेर भोगिसकेका व्यक्तिले चारित्रिक प्रमाणपत्र तोकिरहेका थिए, जुन मलाई नै खटपटिएको थियो । जब कहीँ कुनै कार्य नकारात्मक भएको हुन्छ भने दुई पक्ष नै बराबर दोषी हुन्छ भन्ने मलाई लाग्नु स्वाभाविक हो ।
मलाई माथि राखिएका घटनाक्रमसँग जोडिएका महिलाको सम्बन्धका बारेमा खुलाउन जरुरी थिएन । तर, एउटै कार्यमा सहभागिता जनाएका विभिन्न पक्षको भिडमा महिलाको मात्र चर्चा हुनु स्वाभाविक लागेन । यहाँ जोडिएका धेरै पात्र ‘लुकाइने’ र समाजले ‘देख्ने’ कुरा किन कम ? बहस गर्न सकिन्छ । सम्बन्ध, कुण्ठा, स्वतन्त्रता, इच्छा होस या अपराध, जब विभिन्न पक्ष समेटिन्छन्, तर दृष्टि दोषचाहिँ महिलामाथि मात्र किन ?
जब होटेलमा छापा मारेको समाचार आउँछ, यौनकर्मी होस् या सहमतिमा पुगेका जोडी, पहिलो नजर महिलामाथि नै पुग्छ । अरू त अरू पत्रकारहरूले समाचार बनाउँदासमेत साङ्केतिक चित्र पनि महिलाको नै देखाइन्छ ।
कुनै सम्बन्ध, इच्छा व्यक्तिगत हुन्छन् तर यी सबैमा एउटा पक्ष मात्र सम्मिलित हुँदैनन् । पछिल्लो समय एकाध घटनाबाहेक डिभोर्सकै कुरा बाहिर आउँदा पुरुषभन्दा महिलामाथि प्रतिप्रश्न गर्छ समाज ।
टिकटकबाट उदाएकी स्मारिकालाई ‘लोग्ने किन छाडिन्’ भन्दै कुर्लने जमातलाई जवाफ दिन उनी रुँदै मिडियामा आउन परेको थियो । पुरुषलाई तेरो के गल्ती थियो भनेर कसैले प्रश्न गर्न चाहेन ।
पुँजीवादको विकाससँगै व्यक्तिवादी प्रवृत्ति बढ्नु नौलो होइन । विवाह, परिवार, नातागोता, सम्बन्ध, सोचमा परिवर्तनसँगै समाजलाई देखाउने आवरण र आफ्नो ‘लुकाउने तत्त्व’ विकास हुन्छ । कसको पेसा के, सम्बन्ध कहाँ, कस्तो ? देखिन्छ एउटा, बनाउँछन् अर्को । लुकेको तत्त्व हेर्न आवश्यक पनि छैन, तर यो आवरणभित्र लुकेको द्वैध चरित्रमा दोष भने ‘महिला’माथि नै थुप्रिन्छ ।
एउटै भागबाट निकालेर आफूलाई पायक पर्ने स्वार्थपान गरिन्छ भने जूठो त महिला पुरुषलाई नै लाग्न पर्ने होइन र ? सामाजिक सञ्जालमा हामी निकै आदर्शवादी बन्छौँ, कानुनले पनि महिलालाई सुरक्षा दिएको छ मान्छौं । तर, जब व्यवहारको कुरा आउँछ, हामी असली ‘औकात’मा उत्रन्छौँ । वास्तवमा तपाईँ, म र हामी निकै ढोँगी छौ । देखाउँछौँ एउटा, हुन्छौँ अर्को ।
नेपाली समाज यौन, पैसा र अरूको जीवनशैलीमा कुण्ठा पालेको देखिन्छ । अझ महिलाको हकमा चाहिँ निर्णयात्मक र अनुशासनको ‘हतकडी’ हुनैपर्ने तर्क राख्छ समाज । ‘लोग्ने मान्छे त हो नि’ भन्नु र ‘आइमाई भएर यस्तो’ भन्नु बीचमा नजरकै दोष छ, हाम्रो सामाजिकीकरण मै खोट छ । समाजले ‘एक सफल पुरुषका पछाडि अवश्य एक महिलाको हात हुन्छ’ भन्ने उखान पटक–पटक भन्ने गर्छ । तर, त्यही समाज फेरि कुनै पुरुष आफ्नै निजी कारणले असफल बन्यो भने पक्कै कुनै महिलालाई नै दोष दिन्छ । आफ्नै असफलताले कुनै पुरुष बिग्रियो भने पनि महिलाले बिगारेको समेत भन्छ । समाज नै द्वैध चारित्रिक छ ।
एक पुरुष सफल हुँदा उसका पछाडि एक महिलाको हात थियो भनेर सगर्व सुनाउने र स्वीकार्ने समाजले एकजना महिला सफल हुँदा त्यो सफलताका पछाडि पुरुषहरूको नाम जोडिएको पचाउन सक्छ त ? आफ्नै लोग्नेको सहयोगमा पाएको सफलता पनि सेकेण्डरी हुन जान्छ । ‘ए लोग्नेले गराइदिएको त हो नि’ भनेर त्यसलाई सहज मूल्याङ्कन गर्नु त सामान्य कुरा भयो, त्योभन्दा बाहिर त्यसरी सहयोग गर्ने पुरुष अन्य कोही भए सोझै महिलाको चरित्रको मूल्याङ्कन गर्छ यही समाजले ।
एउटै भागबाट निकालेर आफूलाई पायक पर्ने स्वार्थपान गरिन्छ भने जूठो त महिला पुरुषलाई नै लाग्न पर्ने होइन र ? पुरुष भएकै कारण चोख्याउन मिल्ने, तर महिला भएकै कारण खोट भेटिनुपर्ने हाम्रो नजरको दोष कहिलेसम्म ? सामाजिक सञ्जालमा हामी निकै आदर्शवादी बन्छौँ, कानुनले पनि महिलालाई सुरक्षा दिएको छ मान्छौ तर जब व्यवहारको कुरा आउँछ हामी असली ‘औकात’मा उत्रन्छौँ । वास्तवमा तपाईँ, म र हामी निकै ढोँगी छौं । देखाउँछौँ एउटा, हुन्छौँ अर्को ।
(ढकाल समाजशास्त्री हुन्)