ब्राजिलमा दुई दिनदेखिको वर्षासँगैको बाढी पहिरोमा परी कम्तीमा २४ जनाको ज्यान गएको छ । कैयौं विस्थापित भएका छन् ।
ब्राजिलको साओपाओलो सहर सबैभन्दा बढी प्रभावित भएको जनाइएको छ । साओपाओलो राज्यका गभर्नर जोयो दोरियाले २४ जना नागरिकको ज्यान गएको पुष्टि भएको जनाउँदै वर्षा जारी रहेको जनाएका छन् ।
उनले भारी वर्षाका कारण उद्धारमा कठिनाई भइरहेको जनाए । बाढीपछि राज्यमा आपतकाल घोषणा गरिएको छ । अधिकांश ग्रामिण भेगमा विद्युत सेवा अवरूद्ध भएको छ भने सडक बगाउँदा यातायात प्रभावित भएको जनाइएको छ । मौसमविद्हरुले वर्षा सम्भावन अझै रहेकाले सचेत रहन आग्रह गरेका छन् ।